दफा १७
तथ्याङ्क सङ्कलनको अनुमति लिनुपर्ने
(१) ऐनको दफा ८ बमोजिम राष्ट्रियस्तरको प्रतिनिधित्व हुने .गरी तथ्याङ्क सङ्कलन गर्न चाहने सरकारी निकाय वा संस्थाले देहाय बमोजिमका कागजात संलग्न राखी अनुसूची-३ बमोजिमको निवेदन कार्यालयमा पेस गर्नु पर्नेछ:-
(क) सम्बन्धित निकाय वा संस्थाको निर्णयको प्रतिलिपि,
(ख) तथ्याङ्क सङ्कलनको उद्देश्य, कार्यक्षेत्र विधि र अनुमानित लागत सहितको अवधारणापत्र
(ग) अनुसूची-४ बमोजिमको तथ्याङ्क सङ्कलन अनुमति फाराम,
(घ) तथ्याङ्क सङ्कलनका लागि तयार गरिएको प्रश्नावली,
(ङ)-सरकारी निकाय र सार्वजनिक संस्था बाहेकका अन्य संस्थाको हकमा संस्था दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र,
(च) तथ्याङ्क सङ्कलनका लागि वित्तीय स्रोत उपलब्ध रहेको विवरण ।
(२) उपनियम (१) बमोजिम परेको निवेदन तथा संलग्न कागजातका सम्बन्धमा नियम १८ को उपनियम (१) बमोजिमको सिफारिस समितिले जाँचबुझ गरी तथ्याङ्क सङ्कलन अनुमति दिन उपयुक्त देखिएमा वा नदेखिएमा आफ्नो सिफारिस सहितको प्रतिवेदन प्रमुख तथ्याङ्क अधिकारीसमक्ष पेस गर्नेछ।
(३) उपनियम (२) बमोजिमको प्रतिवेदनको आधारमा तथ्याङ्क सङ्कलन अनुमति दिन उपयुक्त देखिएमा प्रमुख तथ्याङ्क अधिकारीले त्यस्तो अनुमति दिने निर्णय; गरी अनुसूची-५ बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नु पर्नेछ र तथ्याङ्क सङ्कलन अनुमति दिन उपयुक्त नदेखिएमा कारण खुलाई निवेदकलाई जानकारी गराउनु पर्नेछ।
(४) यस नियम बमोजिम, तथ्याङ्क सङ्कलन अनुमति प्रदान गर्ने वा नगर्ने सम्बन्धी निर्णय निवेदन पेस भएको मितिले तीस दिनभित्र गरिसक्नु पर्नेछ।
(५) उपनियम (३) बमोजिम तथ्याङ्क सङ्कलन अनुमतिपत्र प्राप्त भएको तीस दिनभित्र सम्बन्धित सरकारी निकाय वा संस्थाले तथ्याङ्क सङ्कलनको लागि फिल्डकार्य सुरू हुने मिति र क्षेत्र सहितको जानकारी कार्यालयलाई दिनु पर्नेछ।
(६) उपनियम (५) बमोजिमको अवधिभित्र कार्यालयलाई जानकारी प्राप्त हुन नआएमा वा उपनियम (१) को खण्ड (ग) बमोजिमको तथ्याङ्क सङ्कलन अनुमति फाराममा उल्लिखित कार्यतालिका बमोजिम कार्यसम्पादन नगरेमा कार्यालयले त्यस्तो अनुमतिपत्र खारेज गर्न सक्नेछ।
तर त्यसरी अनुमतिपत्र खारेज गर्नु अघि सम्बन्धित निकाय वा. संस्थालाई सफाइ पेस गर्ने मौका दिनु पर्नेछ।